News Griha :: न्यूजगृह
सङ्खुवासभामा बाढी:  १ सय २५ भन्दा बढी घर विस्थापित [अपडेट]
फाइल तस्बिर।

सङ्खुवासभा— सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ३ घर बगाएको छ। करिब १ सय २५ भन्दा बढी घर विस्थापित भएका छन्।

पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको हो। बुधबार राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन्।

खाँदबारी ५ र ६ नम्बर वडामा आएको बाढीले कम्तीमा १ सय १० परिवार विस्थापित भएका छन्। खेतबारीमा ठूल्ठूला ढुंगा थुप्रिएर बगरमा परिणत भएका छन्। डुङ्डुगे आकाशे सिँचाइ र हिँगुवा कुलो सिँचाइमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन्।

धुपू बाह्रबीसे जोड्ने माल्टाखोला माथिको पक्की पुल जोखिममा परेको छ। खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन्। पहिरोबाट विस्थापित बनेकाहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। पीडितहरू राहतको भन्दा पनि दीर्घकालीन समस्या समाधानको पर्खाईमा बसेका छन्।

वर्षा धेरै भएकाले नदी किनारा, भीरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ। बाढीले कम्तीमा ३ करोडको धनमाल क्षति भएको अनुमान गरिएको छ। क्षतिको तथ्यांक भने गाउँस्तरमा संकलन भइरहेको छ।

त्यस्तै, चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोशी राजमार्गअन्तर्गत मुढे –नुम र ठुलोढुंगा–अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १८:१४
Weather Update