News Griha :: न्यूजगृह
कानुनबमोजिम भए टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग आपत्ति छैन: मन्त्री शर्मा
फाइल तस्बिर।

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुनेगरि टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने  बताएकी छन्। 

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरू उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताइन्।

कानुनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको भन्दै उनले सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन्। सामाजिक सञ्जाल समाज अनुकुल हुनेगरि प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ थियो। 

उनले भनिन्, ‘सरकारले टिकटक, क्याबिनेट बाटै निर्णय गरेर बन्द गरेको हो। अहिले यो कानुनी रुपमा भन्ने हो भने बन्दकै अवस्थामा छ। अहिले पनि हाम्रो एनटिसी लगायतका ठूला सेवा प्रदायकबाट यो खुलिरहेको छैन। तर पनि कसैले भीपीएन र साना इन्टरनेट सेवा प्रदायकबाट चलाइरहेका हुनसक्छन्। हामीले नियम कानुन पालना गर्ने र गराउने ठाउँमा छौँ, हामीले प्रयोग गर्नु हुँदैन।’ 

उनले सामाजिक सञ्जाललाई समाज र परिवार अनुकुल हुने गरी मात्रै उपयोग गर्न आग्रह गरिन्। ‘सामाजिक सञ्जाल सम्बन्धी विधेयक क्याबिनेटमा गएको छ। आउने मन्त्रिपरिषद्को बैठकमा सामाजिक सञ्जाल सम्बन्धी विधेयक छलफल हुन्छ। त्यो विधेयक समितिमा जान्छ र सम्भवतः संसद्को समितिमा आइपुग्दासम्म व्यापक छलफल हुनेछ।’ 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १९:१०
Weather Update