News Griha :: न्यूजगृह
सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छः सांसद प्रेम सुवाल
फाक्षल तस्बिर।

काठमाडौं— नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै सांसद सुवालले विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने भएकाले पनि विदेशी लगानी भित्र्याउने प्रयोजनका लागि गठित प्रधानमन्त्री नेतृत्वको बोर्ड तत्काल खारेज गर्नुपर्ने बताएका हुन्।

‘विदेशी पुँजी ल्याएर देश विकास हुँदैन। बरु उपनिवेश हुन्छ। भारतमा व्यापार गर्न आएको इस्ट इन्डिया कम्पनीले भारतलाई २१० वर्ष उपनिवेश बनाएको थियो। त्यसकारण विदेश लगानी ल्याउने लगानी बोर्डलाई तत्काल खारेज गर्नुपर्छ,’ उनले भने।

सांसद सुवालले काठमाडौं उपत्यकाभित्र रहेका सबै औद्योगिक क्षेत्र हटाउन पनि सरकारलाई आग्रह गरेका छन्। काठमाडौं उपत्यकाको वातावरण बिग्रन नदिन पनि ती औद्योगिक क्षेत्रहरू यहाँबाट हटाउनुपर्ने उनको भनाइ थियो।

‘सरकारले जग्गा र भौतिक पूर्वाधार निर्माण गरी औद्योगिक क्षेत्र स्थापना गर्ने र विदेशी लगानी त्यहाँ लगाउने भनेको गाई मारी बाघ पोस्ने हाम्रो जग्गा, हाम्रो श्रम, अनि विदेशी पुँजीको रजाइँ। यो ठिक छैन। काठमाडौं उपत्यकामा रहेका औद्यौगिक क्षेत्रलाई यहाँबाट हटाउनु पर्छ। यहाँको प्रदुषण कम गर्न पनि यो आवश्यक छ,’ उनले भने।  

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १८:५८
Weather Update