-1718279452.jpg)
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणलाई सतहमा ल्याएर कांग्रेसले एमालेलाई बद्नाम गर्न खोजेको टिप्पणी गरेका छन्।
बिहीबार भक्तपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पहिले पशुपतिको जलहरी र अहिले गिरीबन्धुको जग्गा प्रकरणलाई कांग्रेसले उचालिरहेको बताए।
त्यस्तै ओलीले गिरीबन्धुको जग्गाबारे आफूहरुले कानुन बनाएको र त्यही कानुनका कारण जग्गा हडप्न नपाएपछि आफूमाथि कांग्रेसले विभिन्न लान्छाना लगाउने गरेको भन्दै कटाक्ष गरे। उनले कांग्रेससँग अन्य वैचारिक बहस र देश बनाउनका लागि सिन्को नभाँचेको टिप्पणी गरे।
‘गिरीबन्धु–टी स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानुन हामीले बनायौँ, कानुन बनाएपछि नियम कानुनभित्र बस्नुपर्यो, बेचेर खान नपाइने भयो भनेर स्यालहुँइया मच्चाएका छन्। केपी ओलीले त्यो र यो गर्यो भनेर। यो किन हुन्छ भने हाम्रो पार्टीसँग वैचारिक संघर्ष गर्न सक्दैनन्। देश बनाउने कसरी त्यो आइडिया छैन। अनि एमालेलाई बदनाम गर्ने? यिनीहरूले यो काम गरेँ भन्ने त छैन नि! एउटा सिन्को भाँचेको छ, यिनीहरूले देशका लागि?
त्यस्तै गिरीबन्धु टी–स्टेटको जग्गा पटकपटक गरेर कांग्रेसको सरकारको पालामा ७० बिघा जग्गा कानुन विपरित मिचेर खाएको आरोप लगाए।
‘अहिले गिरीबन्धु टि स्टेट भनेर जानेका छन्, कराएका छन्। गिरीबन्धु टि स्टेटमा एक पटक ५१ र अर्को पटक १९ बिघा गरेर ७० बिघा कानुन, नियमबिना बलजफ्ती बिक्री गरेर तीनै तत्वहरुले खाएका थिए,’ ओलीको कटाक्ष थियो।