News Griha :: न्यूजगृह
लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना 

काठमाडौं— विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई सजाय निर्धारण गरेको छ। 

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले ६ वर्ष जेलसहित ८० लाख जरिवाना समेत तोकेको हो। 

गत जेठ २४ गते विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो।  

ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट कमिसन लिएर जग्गाजमिन जोडेको लगायतको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २५ विशेष अदालतमा भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो।

भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपाइटरबाट घुस रकम लिई आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरमा जग्गा खरिद गरेको अभियोग लगाएको थियो। 

कोषको निर्माणसम्बन्धी ठेक्का लिएका व्यापारी सफिक अहमदबाट इन्जिनियर भट्टराईले तेस्रो व्यक्तिमार्फत ८० लाख रुपैयाँ लिएको अख्तियारको पत्रमा उल्लेख छ। 

अख्तियारले दायर गरेको अभियोग पत्रअनुसार घुससहितको रकमबाट भट्टराईले आमा जनकनन्दनीको नाममा भक्तपुरको गुन्डुमा छुट्टाछुट्टै कित्ताका २ रोपनी ९ आना र २ आना १ पैसा जग्गा किनेका थिए। भट्टराई आव २०७५/७६ अघिसम्म कोषमा योजना प्रमुख थिए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १५:३१
Weather Update