
काठमाडौं— आईसीसी टी२० विश्वकपको समूह चरणका आधाभन्दा बढी खेल सकिंदा चार टोली ‘सुपर–८’ मा पुगेका छन् भने तीन टोली बाहिरिइसकेका छन्।
बिहीबार बिहान भएको खेलमा न्युजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेस्ट इन्डिज ‘सुपर–८’ मा पुगेको छ। वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले १३६ रन मात्रै बनाउन सक्यो।
यो जितसँगै समूह ‘सी’ बाट वेस्ट इन्डिज ६ अंक बटुल्दै ‘सुपर–८’ मा पुगेको हो। यस समूहमा रहेका अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी र न्युजिल्याण्ड अर्को चरणको प्रतिस्पर्धामा छन्। अफगानिस्तानले दुई खेल जितेर चार अंक बटुलेको छ भने अब पपुवा न्युगिनी र वेस्ट इन्डिजसँग खेल्न बाँकी छ।
त्यस्तै, तेस्रो नम्बरमा रहेको युगान्डाले एक खेल जितेर दुई अंक बटुलेको छ भने अब न्युजिल्याण्डसँग खेल्न बाँकी छ। न्युजिल्याण्डलाई हराएमा र अफगानिस्तानले अबका दुवै खेल हारेमा मात्रै युगान्डा अर्को चरणमा पुग्नेछ।
पपुवा न्युगिनी र न्युजिल्याण्डले भने दुवै खेल हारेका छन् भने अब दुई/दुई खेल खेल्न बाँकी छ। उनीहरूलाई बाँकी खेल जितेर मात्रै पुग्दैन, अफगानिस्तानले बाँकी दुवै खेल हारे मात्रै अर्को चरणमा पुग्नेछन्।
यसैगरी, समूह ‘ए’ बाट भारत ६ अंक बटुलेर ‘सुपर–८’ मा पुगिसकेको छ। अब समूह चरणको अन्तिम खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। यस समूहमा रहेका बाँकी चारै टोलीको अर्को चरणमा पुग्ने सम्भावना जीवित छ। दोस्रो नम्बरमा रहेको अमेरिकाले चार अंक बटुलेको छ भने अन्तिम खेलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
तेस्रो नम्बरमा रहेको पाकिस्तानको दुई अंक छ भने अन्तिम खेलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेल जितेर मात्रै पुग्दैन। आयरल्याण्डले अमेरिकालाई हराएपछि मात्रै पाकिस्तान ‘सुपर–८’ मा पुग्नेछ। दुई अंक रहेको क्यानडाले अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। क्यानडाले राम्रो रनरेटले जित्नुपर्नेछ भने त्यसपछि पनि आयरल्याण्डले अमेरिकालाई र पाकिस्तानले आयरल्याण्डलाई पराजित गरेपछि मात्रै अर्को चरणको ढोका खुल्नेछ।
अहिलेसम्म अंक जोड्न नसकेको आयरल्याण्डको भने अर्को चरणमा पुग्ने सम्भावना उसको प्रदर्शनमा भर पर्छ। बाँकी खेलमा अमेरिका र पाकिस्तानलाई हराएमा आयरल्याण्डको अर्को चरणको बाटो खुल्नेछ।
यस्तै, समूह ‘बी’ बाट अस्ट्रेलिया ६ अंक जोड्दै ‘सुपर–८’ मा पुगेको छ। अब अन्तिम खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यो समूहबाट नामिबिया र ओमन एक/एक खेल बाँकी छँदै बाहिरिइसकेका छन्। दुई अंक रहेको नामिबिया र खाता खोल्नै बाँकी रहेको ओमनले इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन्।
यस समूहबाट स्कटल्यान्ड र इङ्ल्याण्ड अर्को चरणको प्रतिस्पर्धामा छन्। स्कटल्याण्डले पाँच अंक बटुलेको छ भने अन्तिम खेलमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, एक अंक मात्रै रहेको इङ्ल्याण्डले बाँकी दुई खेलमा ओमन र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। इङ्ल्याण्डलाई आफूले जितेर मात्रै पुग्दैन, अस्ट्रेलियाले स्कटल्याण्डलाई हराएको खण्डमा मात्रै अर्को चरणमा पुग्नेछ।
नेपाल रहेको समूह ‘डी’ बाट दक्षिण अफ्रिका ‘सुपर–८’ मा पुगिसकेको छ। तीन खेलमा ६ अंक जोडेको दक्षिण अफ्रिकाले अन्तिम खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, यस समूहबाट श्रीलंका बाहिरिइसकेको छ। तीन खेलमा एक अंक जोडेको श्रीलंकाले अन्तिम खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। यस समूहका बाँकी तीन टोली बङ्गलादेश, नेदरल्याण्ड्स र नेपाल अर्को चरणका लागि प्रतिस्पर्धामा छन्। दोस्रो स्थानमा रहेको बङ्गलादेशको दुई अंक छ भने बाँकी खेलमा नेदरल्याण्ड्स र नेपालसँग प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै, तेस्रो नम्बरमा रहेको नेदरल्याण्ड्सको पनि दुई अंक छ भने बाँकी खेलमा श्रीलंका र बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। चौथो नम्बरमा रहेको नेपालको एक अंक छ भने बाँकी दुई खेलमा दक्षिण अफ्रिका र बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले अर्को चरणमा पुग्न दुवै खेल जित्नु त पर्छ नै, बङ्गलादेश वा श्रीलंकाले नेदरल्याण्ड्सलाई हराउनुपर्नेछ। नेपालको अर्को खेल शनिबार बिहान ५ः१५ बजे दक्षिण अफ्रिकासँग हुनेछ। टी–२० विश्वकप अन्तर्गत समूह चरणका ४० मध्ये २६ खेल सकिएका छन्। अब बाँकी १४ खेल सबै टोलीका लागि महत्त्वपूर्ण छन्।
तस्बिरहरुः क्यान