News Griha :: न्यूजगृह
जसपा नेपाल महाधिवेशनः मतदान नहुने, केन्द्रीय समिति घोषणाको जिम्मा उपेन्द्रलाई 

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारीसहित केन्द्रीय समिति गठन सर्वसम्मतिमा हुने भएको छ। 

जनकपुरमा जारी जसपा नेपालको एकता महाधिवेशनमा अध्यक्ष उपेन्द्र यावदले सो घोषणा गरेका हुन्। 

यसअघि नै बुधबार यादव निर्विरोध अध्यक्षमा निर्वाचित भइसकेका छन्। अन्यले अध्यक्षमा दाबी नै नगरेपछि हिजो उनी निर्विरोध निर्वाचित भएका थिए। 

आज पदाधिकारीसहित अन्य सदस्यहरुको मतदान हुने भनिएको थियो। तर आज जनकपुरमा अवस्थित महाधिवेशनको हलमा यादवले मतदान नभइ सर्वसम्मतले केन्द्रीय समिति चयन गर्ने घोषणा गरेको पार्टीका प्रवक्ता मनिष सुमनले न्यूजगृहलाई जानकारी दिए। साथै यादवले सबै छनोट गर्ने र त्यसको सम्पूर्ण अधिकार दिइएकोमा  प्रतिनिधिहरुले समेत समर्थन गरेको उनले बताए। 

‘अब पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन नहुने भएको छ। हाम्रो सम्पूर्ण केन्द्रीय कमिटी घोषणाको अधिकार अध्यक्षजीलाई नै दिएका छौँ, उहाँले आवश्यक छलफल गरेर घोषणा गर्नुहुनेछ,’ उनले भने। 

जसपा नेपालमा २० पदाधिकारीसहित २०१ जनाको केन्द्रीय समिति रहने विधानमा व्यवस्था रहेको छ। 

आज सबै पदका लागि उम्मेदवारी समेत परेको थियो । तर सर्वसम्मतीले नेतृत्व टुंगो लगाउने भएसँगै सबैले आ–आफ्नो पदबाट उम्मेवारी झिकेका छन्। अब उम्मेदवारी परेको पदबाट अन्य पदमा पनि नेतालाई व्यवस्थापन गर्न सकिने बताइएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १४:२०
Weather Update