News Griha :: न्यूजगृह
अरुण नदीमा पानीको बहाव बढेपछि ‘फेरी’ बन्द गरियो 

भोजपुर— भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी  आजदेखि बन्द भएको छ। मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो। 

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीको फेरी सञ्चालनमा आएको थियो। षडानन्द नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म फेरी सञ्चालन नहुने जनाएको हो।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी बनेको छ। फेरीले एकैपटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ।

अरुणमा सञ्चालनमा रहेको फेरीले आवतजावतमा सुविधा हुँदै आएको बताउँदै षडानन्दका नगरप्रमुख सुरेन्द्रकुमार उदासले वर्षात्को समयसँगै खोलामा पानीको बहाव बढेकाले फेरी बन्द गर्न लागिएको बताए। संघीय सांसद क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र गरपालिकाको ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो। फेरीबाट दैनिक एक सय बढी साना ठूला सवारीसाधन तार्ने गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १३:५९
Weather Update