
काठमाडौं— प्रतिनिधि सभामा केही दिनदेखि विनियोजन विधेयक २०८१ मा मन्त्रालयगत रुपमा छलफल भइरहेको छ।
आज प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ।
तर आफ्नो मन्त्रालयको खर्च कटौतीको प्रस्तावका विषयको छलmफलमा सम्बन्धित मन्त्री नै संसद्मा उपस्थित हुने गरेका छैनन्। जसको कारण कहिले आफ्नो धारणा सुनाउन रोस्टम पुगेका सांसदहरु रोकिएर मन्त्रीलाई कुर्छन् त कहिले बैठक नै केही समयका लागि स्थगित हुने गरेका छ।
सो क्रममा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह आफ्नो धारणा राख्न रोस्टम पुगे पनि उनले स्वास्थ्यमन्त्री देखेनन्। उनले स्वास्थ्य मन्त्रालयसम्बन्धी प्रस्तावका विषयमा छलफलमा सम्बन्धित मन्त्री नै नभएपछि छलफल त्यहीँ रोक्न आग्रह गरे।
सभामुख देवराज घिमिरेले स्वास्थ्यमन्त्री केहीबेर बाहिर गएको भन्दै सिंहलाई रोस्टमै बस्न र अन्य सांसदहरुलाई धैर्य गरेर बस्न आग्रह गरे।
केहीबेरमा स्वास्थ्यमन्त्री आएपछि उनले आफ्नो धारणा राखे। उनले सरकारले मधेसलाई उपेक्षा गरेको बताए। साथै मधेसमा एउटा पनि मेडिकल कलेज नरहेको भन्दै सरकारको ध्यानाकर्षण गरे।
यता संसद्को गतिविधि हेर्ने हो भने विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुको उपस्थिती कम हुँदै गइरहेको छ।
त्यस्तै विनियोजनमाथिको छलफल कर्मकान्डी मात्रै भएको भन्दै सांसदहरुले त्यसलाई व्यवहारिक बनाउन समेत माग गरिरहेका छन्।













