News Griha :: न्यूजगृह
कांग्रेसले भन्यो– विपद् न्यूनिकरणका लागि आपतकालीन बैठक नकुरौँ, आजैबाट काम थालौँ 

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मनसुनजन्य जोखिमको व्यवस्थापनमा आजैबाट जुट्न सरकारको ध्यानाकर्षण गराएको छ। 

अघिल्ला वर्षहरुमा बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिका घटनाहरु घटेपछि मात्रै सरकारले चासो दिनेगरेको स्मरण गराउँदै कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सरकारको ध्यानाकर्षण गराएका हुन्। 

आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री शर्माले बाढी पहिरोको जोखिम न्यूनिकरणका नाममा यसअघि देखिने दृश्यहरु बदल्न आग्रह गरे। 

‘बर्खाको समयमा हाम्रो देशमा तीन वटा दृश्य देखिने गरेको छ। पहिलो बाढीपहिरो, दोस्रो आपतकालीन बैठकहरु, तेस्रो दलहरुको वक्तव्य अनि संसद्मा सांसदहरुको ध्यानाकर्षण। यसपाली दृश्य बदलौँ, ध्यानाकर्षणका लागि बाढी नकुरौँ, बाढीपछि बैठक होइन उद्धारमा जुटौँ। गाउँमा कसैको घरमा आगो लाग्दा मान्छे बैठक गर्दैनन् पानी खोज्छन्,’ उनले भने।  

त्यस्तै जलवायु परिवर्तनको असर नेपालमा देखिन थालेको बताउँदै आगामी दिनमा त्यसबाट बच्न सरकारले काम थाल्नुपर्नेमा जोड दिए। 

त्यस्तै बाढी पहिरोबाट बस्तीहरु जोगाउन स्थानीय तहको कामलार्ई प्रभावकारी बनाउन समेत आग्रह गरे। साथै आजको विकासको कारण भोलिको पुस्ताले विनास भोग्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरेका छन्। 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ११:३४
Weather Update