
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन् ।
१७ औं लोकतन्त्र दिवसको अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना सजग र सचेत रहनुपर्ने बताए ।
‘वि.सं. २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि २०६२/०६३ मा नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ साल ११ वैशाखले मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो यसको रक्षाका लागि सबै लाग्नुपर्छ’, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले विज्ञप्तिमा मुलुकमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि विगतमा पटक–पटक गरिएका लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राणको आहुति दिने सम्पूर्ण ज्ञातअज्ञात वीर शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।













