News Griha :: न्यूजगृह
स्विट्जरल्याण्डका समकक्षीसँग राष्ट्रपति पौडेलको भेटवार्ता

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र स्विट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्विट्जरल्याण्डको राजधानी बर्नमा बुधबार भेटवार्ता भएको छ।

स्विट्जरल्याण्ड कै जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन कार्यक्रमका मुख्य वक्ताका रूपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र त्यहाँका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो।

भेटका अवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताए।

राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५० को दशकदेखि स्विस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल  सरकारले स्विस लगानीकर्ताहरूलाई  नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहेको बताएका थिए।

स्विट्जरल्याण्ड शान्ति, लोकतन्त्र, कानुनी राज्य तथा समृद्धिका लागि विश्वमा नै मानक मुलुक रहेको बताउँदै उनले यसले अवलम्बन गरेको तटस्थताको नीति नेपालजस्तो असंलग्नताको नीति अंगीकार गरेको मुलुकका लागि अनुकरणीय रहेको पनि बताएका थिए।

पौडेलले स्विस राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका थिए भने स्विस राष्ट्रपति एमहर्डले समय मिलाएर उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिएका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०६:०१
Weather Update