
पाल्पा— पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रूपन्देहीको बुटवल फर्कदै गरेको जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २ जना घाइते छन्।
लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जितगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
दुर्घटनामा स्याङ्जा पुलतीबजार घर भइ बुटवल–१० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए।
घटनामा बुटवल–९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
गएराति ९ बजे आफूहरूलाई घटनाको खबर आएपछि उद्धारमा गएको डीएसपी पण्डितले बताए। जीप ओरालो घुम्ती सडकमा दुर्घटना भएको हो। उनीहरु घुम्नको लागि पाल्पा र रूपन्देहीको पायक पर्ने स्थल नुवाकोटगढी गएका थिए।













