News Griha :: न्यूजगृह
सुन्दरीजलकै धारामा आउँदैन मेलम्चीको पानी

काठमाडौं— मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन्। सुन्दरीजल बागमती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट २७ दशमलव ५ किमि सुरुङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका–१ महाँकालमा प्रशोधन हुन्छ। दैनिक मेलम्चीबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर संघीय राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीय भने सुक्खा मौसममा काकाकुल छन्।

यहीँबाट बागमती नदीको करिब नौ करोड लिटर पानी संघीय राजधानीका विभिन्न स्थानमा वितरण गरिन्छ। वर्षायाममा बागमतीबाट करिब १३ करोड लिटर पानी वितरण गरिन्छ। यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिँदै आएको बागमती नदीको पानी पनि पिउन पाएका छैनन्। खानेपानीको समस्या भएपछि स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ।

कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीका स्थानीय सन्ध्या श्रेष्ठ खानेपानी लिन गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने बाध्यता रहेको दुखेसो पोख्छिन्। पानी लिन करिब आधा घण्टा पैदल हिँडेर जाने र आधा घण्टा फर्किन समय लाग्ने उनको भनाइ छ। कहिले त पानीको लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्ने गरेको उनी बताउँछिन्।

धारामा धेरै मानिस खानेपानीको लाममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ। यस्तो समस्या भोग्ने श्रेष्ठ मात्र होइनन् यहाँका हजारौँको समस्या उस्तै छ। आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरा गर्दा पनि समस्या समाधान हुन सकेको छैन। 

स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ। गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले खानेपानी नपाए मेलम्चीको पानी बागमतीमा बगाउने चेतावनी दिँदासमेत समस्या समाधान हुन सकेको छैन। गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेट विनियोजन गरी पानी माग गर्दा पनि सम्बोधन नभएको बताए।

२०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए। नगर प्रमुख हुँदा उनले मुहानवासीले खानेपानी नपाए मेलम्ची र बागमतीको पानी सहरमा वितरणका लागि नपठाई बागमतीमा बगाउने चेतावनी दिएका थिए। तर अहिले सुन्दरीजल क्षेत्रकै स्थानीयले खानेपानी नपाउँदा यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद चालिसेले वेवास्ता गरेको स्थानीय रामबहादुर तामाङको गुनासो छ।

यही क्षेत्रबाट समानुपातिक सांसद निर्वाचित भएकी शान्ति श्रेष्ठले तीन महिनाअघि खानेपानी मन्त्रीलाई दिएको ज्ञापन पत्रमा गोकर्णेश्वर नगरपालिका १, २, ३ र ४ वडाको खानेपानी समस्यालाई बेवास्ता गरी वडा नं ५ भन्दा माथिकालाई मात्र समेटेकामा आपत्ति जनाइएको छ। जनप्रतिनिधिलाई आफ्नै निर्वाचन क्षेत्रका बारेमा राम्रो ज्ञान नहुँदा समस्या भोग्नुपरेको गुनासो स्थानीयले गर्न थालेका छन्।  

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  २१:२०
Weather Update