
काठमाडौं— सांसद रञ्जिता श्रेष्ठले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ का लागि बजेट थप्न सुझाव दिएकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, सङ्घीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो सुझाव दिएकी हुन्।
सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा यस कार्यक्रमका लागि १० करोड विनियोजन गरेको छ। नागरिक उन्मुक्ति पार्टी अध्यक्षसमेत रहेकी सांसद श्रेष्ठले छोरीहरूलाई रोजगार उन्मुख शिक्षा, सीप प्रदान र उद्यमशील बनाउँदै यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न विनियोजित बजेट न्यून भएको जिकिर गरिन्।
सांसद श्रेष्ठले मुक्त कमलरी, मुक्त कमैया र हरुवाचरुवाको जीविकोपार्जन, स्वास्थ्य र शिक्षामा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराइन्। उनले बालबालिका तथा ज्येष्ठ नागरिकप्रति समर्पित योजनाको बजेट तथा योजना प्रभावकारी बनाउन र शहरी विकासका कार्यक्रम ग्रामीण क्षेत्रसम्म विकासको आवश्यकता औँल्याइन्। ग्रामीण क्षेत्रमा आवासीय विकासका कार्यक्रमहरू सञ्चालन गर्न सांसद श्रेष्ठको सुझाव छ।













