काठमाडौं— रुसी सेनामा भर्ती भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ। युक्रेनसँगको लडाइँमा दुई भारतीय नागरिकको मृत्यु भएको भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।
भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्छौँ। मस्कोस्थित हाम्रो दूतावास रुसी रक्षा मन्त्रालयसहित रुसी अधिकारीहरूसमक्ष मृतकको शव ल्याउन पहल गरिरहेको छ।’
विदेश मन्त्रालयले मस्कोस्थित भारतीय दूतावासले भारतका लागि रुसी राजदूत र मस्कोका रुसी अधिकारीहरूलाई रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको अविलम्ब रिहाइ र घरफिर्तीका लागि दबाब दिइरहेको पनि जनाएको छ।
भारतीय विदेश मन्त्रालयले रुसी सेनामा भारतीय नागरिकको भर्तीमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको पनि जनाएको छ। यही मार्चमा रुसी सेनामा अवैधानिक रूपमा भारतीय नागरिकहरू भर्ती भएको खबर सार्वजनिक भएको थियो । रुसी सेनामा ठूलो सङ्ख्यामा नेपाली नागरिकसमेत भर्ती भएका छन्।
नेपाल सरकारले रुसी पक्षबाट युक्रेनसँगको युद्धमा जेठ १ सम्म २३ जना नेपालीको मृत्यु भएको जानकारी दिएको छ। ५ जना नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा छन्। रुसी सेनामा कति नेपाली भर्ती भएका छन् र मृत्यु हुनेको संख्या कति पुग्यो भन्नेबारेमा हालसम्म प्रस्ट तथ्यांक भने आएको छैन।