काठमाडौं— भारतीय सेनाका लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्ने भएका छन्। हाल भारतीय सेनाका उपप्रमुख रहेका द्विवेदीलाई आगामी जुन ३० देखि जिम्मेवारी सम्हाल्ने गरी भारत सरकारले सेना प्रमुखमा नियुक्त गरेको हो। वर्तमान सेना प्रमुख जनरल मनोज पाण्डेले यही जुन ३० मा अवकाश लिँदैछन्।
गत महिना भारत सरकारले जनरल पाण्डेको पदावधि एक महिना बढाएको थियो। मे ३१ मा अवकाश पाउँदै गरेका पाण्डेको कार्यकाल १ महिना ६ दिन बढाइएको थियो। भारतीय रक्षा मन्त्रालयका अनुसार सन् १९६४ मा जन्मिएका उपेन्द्र द्विवेदी सन् १९८४ मा सैनिक सेवा प्रवेश गरेका थिए। उनले सुरुमा भारतीय सेनाको इन्फ्यान्ट्री जम्मू एन्ड कश्मीर राइफल्समा सेवा गरेका थिए। ४० वर्ष सेवाकालमा द्विवेदीले विभिन्न कमान्ड, स्टाफ, प्रशिक्षणलगायतका कार्यक्षेत्रमा अनुभव बटुलेका छन्।
सेना उपप्रमुखमा नियुक्त हुनुभन्दा पहिले द्विवेदीले उत्तरी कमान्ड मुख्यालयको समेत नेतृत्व गरिसकेका छन्। द्विवेदी पछिल्लो समय चीनसँग देखिएको सीमा विवाद समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने उच्च सैनिक अधिकारी भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
त्यस्तै भारतीय सेनालाई आधुनिकीकरणमा पनि उनको उच्च भूमिका रहेको छ। द्विवेदीले प्रतिरक्षा तथा व्यवस्थापनमा एमफील र रणनीतिक अध्ययन तथा सैनिक विज्ञानमा स्नातकोत्तर गरेका छन्। साथै विश्वका विभिन्न प्रतिष्ठित सैनिक कलेजहरूमा समेत उनले अध्ययन र प्रशिक्षण लिएका छन्।
भारतीय सेनाका प्रमुख नेपाली सेनामा मानार्थ प्रधानसेनापति समेत हुन्छन्। नेपाली सेना र भारतीय सेनाबीच आपसी सौहार्द सम्बन्धअनुरूप दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रही आएको छ।