
काठमाडौं— नेकपा माओवादी केन्द्रले फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका प्रदेश सभा सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का नेता फणीन्द्र देवकोटालाई स्पष्टीकरण सोधेको छ।
नेकपा माओवादी केन्द्र गण्डकी संसदीय दलले उनलाई बुधबार साँझ ७ बजेसम्म लिखित जवाफ पठाउन निर्देशन दिएको हो।
देवकोटाले फ्लोर क्रस गरेपछि त्यसको जानकारी सोमबार नै पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको कार्यालयले पठाएको थियो। जसअनुसार केन्द्रको रायअनुसार प्रदेश संसदीय दलले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। मंगलबार साँझ उनलाई स्पष्टीकरण सोधेको पत्र पठाइएको प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिइन्।
उनलाई इमेलबाट र प्रत्यक्ष भेटेर पत्र बुझाइएको बुढाले बताइन्। माओवादीको चुनाव चिह्नमा निर्वाचन लडेर विजय भएका नेसपाका उनलाई माओवादीले कारबाही गरे पनि अन्यौलता कायमै छ।













