
काठमाडौं— नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन्। काठमाडौंमा बुधबार भएको एक कार्यक्रममा नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटकपटक सरकार परिवर्तन भएका बताएका हुन्।
नेता कोइरालाले भने, ‘राजनीति वा सरकारको स्थिरता नभई आर्थिक स्थिरता र सुशासनसँगै समृद्धि हासिल गर्न सकिदैन।’ मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्यूनीकरण, स्थायी सरकार र नीति आवश्यक पर्ने नेता कोइरालाको भनाइ थियो।
राजनीतिक दल विभाजन गर्ने र नेतालाई दुःख दिने नियतले आपराधिक किसिमका कार्य भइरहेकाले राजनीतिक दलले यस विषयमा गम्भिर छलफल गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए। नेता कोइरालाले भने, ‘कांग्रेस अहिले विपक्षमा रहेकाले प्रमुख प्रतिपक्षको भूमिका खेलिरहेको छ । सरकारमा जान हामीलाई कुनै हतार छैन ।’
सुशासन, पारदर्शिता र भ्रष्टाचारका विषयमा छिनोफानो नभई देश विकास र समृद्धितर्फ जान नसक्ने उल्लेख गर्दै नेता कोइरालाले राजनीतिक स्थिरताका लागि अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारे समेत पुनर्विचार गर्न आवश्यक रहेको धारणा राखे।













