
काठमाडौं— जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था आएको बताएका छन्।
बुधबार नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसका अवसरमा बोल्दै डा. राउतले प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि सरकार नचाहने र साना दलले संसदबाट व्यवस्था बदल्न सम्भव नभएको उल्लेख गर्दै आन्दोलन नै गर्नुपर्ने बताए।
त्यस्तै उनले आन्दोलनको नेतृत्व गर्न रास्वपाका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्दै प्रधानमन्त्री बनाउने आश्वासन समेत दिए।
उनले सरकार परिवर्तन भए पनि सदनको गतिविधि परिवर्तन हुन नसकेको बताउँदै नयाँ शक्तिहरु, नागरिक समाज मिलेर सडकबाटै प्रणाली परिवर्तनको तयारी गर्नुपर्ने बताए।
‘यसमा विचार मात्रै गरेर पुग्दैन। धेरै विचार भैसक्यो। अब कति विष्लेषण गर्नुहुन्छ? अब सडकमा ओर्लिएर अगाडि बढौँ। मैले वीपी कोइराला पछिको नेताको रुपमा आन्दोलनलाई हाँक्न सक्ने नेता हुनुहुन्छ भनेर गृहमन्त्रीज्युलाई पटक पटक भनेको छु। तपाईं आन्दोलनको लागि तयार हुनुहोस्। प्रधानमन्त्री त त्यसै तपाईं बन्नुहुन्छ। त्यो ठूलो कुरा होइन,’ राउतले भने।
राउतले साना दलको संसद्मा दुई तिहाई नपुग्ने र ठूला दलले प्रणाली परिवर्तन गर्न नचाहने हुँदा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्रीको लागि सडकबाट संघर्ष गर्नुको विकल्प नभएको धारणा राखे।
उनले आन्दोलनको नेतृत्व गर्न गृहमन्त्रीलाई आग्रह गर्दै भने, ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डामा हामीहरु सहमत नै छौँ। एक किसिमले यो नै निकास हो भनेर मान्छौ पनि तर, अगाडि जाने बाटो के छ? यो कुरा सरकारले गर्दिन्छ त? गर्दैन।’
राउतले भारतमा जवाहरलाल नेहरुले पनि प्रधानमन्त्री नहुँदासम्म आन्दोलन गर्ने अधिकार हुन्छ भनेर बोलेको तर प्रधानमन्त्री भैसकेपछि हामी सत्तामा आइसक्यौं किन आन्दोलन गर्नुपर्यो भन्न थालेको उदाहरण दिए। साथै माओवादीले पनि पहिले सोही नारा बोके पनि सत्तामा गएपछि त्यसलाई बिर्सिएको टिप्पणी गरे।
‘यो एजेण्डा माओवादीकै हो तर, सत्तामा पुगिसकेपछि माओवादीले आफैँ प्रधानमन्त्री बनाउने ठाउँमा छौँ भन्नुहुन्छ, दुई चार जनालाई प्रधानमन्त्री बनाउने हाम्रो हातमा भएपछि जनताको हातमा अधिकार किन दिने?,’ उनले भने, ‘जनताले भोलि बालेन जस्तो मान्छेलाई ल्याइदियो भने हामीले के गर्ने भनेर उहाँहरु तयार हुनुहुन्न अहिले।’