
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी आपूर्ती र विद्यालय व्यवस्थापनका नाममा भ्रटाचार गर्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले आज संखुवासभाको धर्मदेवी नगरपालिका–४ मा रहेको शारदा माविका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई, शिक्षक लालबाबु मण्डल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारी र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशब कुमार शाक्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
विद्यालयको खानेपानी आपूर्तिको लागि तत्कालीन प्रदेश नं. १ बाट आव २०७५–०७६ मा विनियोजित भएको रकम र पुस्तकालय व्यवस्थापनको लागि आव २०७४–०७५ मा जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकमबाट कुनै पनि कामको शुरुवात नै नगरी बिल भरपाई मिलाई रकम अनियमितता गरेको आरोप उनीहरुमाथि रहेको छ।
विद्यालयलाई आव २०७४–०७५ मा पुस्तकालय व्यवस्थापनको लागि शिक्षा विभागबाट अनुदान स्वरुप जिल्ला शिक्षा कार्यालयको निर्णय बमोजिम शिक्षा विकास तथा समन्वय इकाईमार्फत विद्यालयको खातामा रकम जम्मा भएको थियो। उक्त रकमबाट विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीले शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशब कुमार शाक्यसँग मिलेमतो गरी उल्लिखित पुस्तकहरु खरिद नै नगरी पुस्तक खरिद गरेको भनी झुट्टा बिल भरपाई गरेका थिए। साथै सम्झौता हुनु अगाडि नै विद्यालयमा खरिद भएको ल्याप्टपको बिलसमेत संलग्न राखी पुस्तकालय व्यवस्थापनको लागि अनुदान स्वरुप प्राप्त सरकारी रकम हिनामिना गरेका हुन्।
उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुरमा ऐनको दफा ८ को उपदफा (१) बमोजिमको कैद तथा बिगो बमोजिमको जरिवाना गरी उक्त बिगो असुल उपर हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार शारदा मावि तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीसँग ४ लाख ६० हजार ४ सय ५५ रुपैयाँ बिगो माग गरिएको छ ।
त्यस्तै सोही विद्यालयका तत्कालीन शिक्षक लालबाबु मण्डल ३ लाख ४३ हजार र शाक्य अफसेट प्रेस चैनपुर, संखुवासभाका प्रोप्राइटर केशब कुमार शाक्यसँग ४ लाख १० हजार ४५५ बिगो मागदाबी गरिएको छ।













