News Griha :: न्यूजगृह
लगानीका विषयमा रास्वपाका सांसद पराजुलीलाई सभामुखले सम्झाउन परेपछि...
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कर्णाली प्रदेशमा विद्युत्को समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। 

बुधबार विनियोजन विधेयकमाथिको छलफलअघि संसद्को आकस्मिक समयमा बोल्दै सांसद पराजुलीले अझै पनि कर्णालीबासी बिजुलीको अभावमा अन्धकारमा बसिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

‘म उर्जामन्त्रीज्यूलाई अनुरोध गर्न चाहान्छु, १३२ केबी प्रशारण लाइन निर्माणमा धेरै कामहरु भएका छन्, तर त्यहाँका जनताले त्यो महसुस हुनेगरी त्यो अनुभुती गर्न पाएका छैनन्। त्यसकारण यस सदनमा उपस्थित भएर उर्जामन्त्रीज्यूले ती कर्णालीबासी जनतालाई साच्चै महसुस हुने गरी बजेटबाट यसरी सम्बोधन गरेका छौँ, १३२ केबी प्रशारण लाइन चाडोँ भन्दा चाँडो पुर्याउनका लागि यो यो प्रयास गरेका छौँ, र त्यो क्षेत्रमा लगानी गर्न चाहने उद्यमीहरुलाई तपाईहरु ढुक्क भएर लगानी गर्नुहोस् हामीले प्रशारण लाइन र विद्युत आपुर्तीको काम....’ उनले भन्दै थिए। 

उनले सरकारको ध्यानाकर्षण गराउने भन्दा पनि आफ्ना कुराहरु नरोकिइ राखेपछि सभामुख देवराज घिमिरेले उनलाई बिचमै रोके। उनी आफ्नो समस्याबारे भन्दा पनि विद्युत प्रशारण लाइन निर्माणबारे धाराप्रवाह आफ्नो धारणा राख्न थालेपछि सभामुखले बिचमै रोकेर लगानी कसले गर्ने र कहाँबाट ल्याइने भन्ने विषयमा ब्याख्या नगर्न आग्रह गरे। 

‘मान्यसदस्य लगानी कसले गर्छ, लगानी कहाँबाट ल्याइन्छ, योजना कहिले ल्याइन्छ यसको व्याख्या यहाँ नगरौँ। आफ्नो समस्या के हो त्यो राखेर सिध्याउनुस्,’ सभामुख घिमिरेले सम्झाए। 

अहिले बैठक जारी रहेको छ। आजको बैठकमा  विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुँदैछ। 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ११:५२
Weather Update