
काठमाडौं— पूर्व प्रधानमन्त्री एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्रीकै लागि मरिहत्य गर्ने मान्छे नभएको दाबी गरेका छन्।
उनले यसअघि गिरीजाप्रसाद कोइरालाले अफर गरेर निर्वाचनमा पराजित भए पनि प्रधानमन्त्री बनेको उदाहरण दिँदै आफू अहिले प्रधानमन्त्री बन्नका लागि २४ घण्टानै सोचेर नबस्ने बताए।
बुधबार कास्की पुगेका अध्यक्ष नेपालले पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन्। साथै आफ्नो दल कमजोर नरहेको र कसैले नहेप्न चेतावनी समेत दिए।
‘प्रधानमन्त्री मैले कसैसँग मागेर लिएको होइन, परिस्थितिले निर्माण गरेको हो। हिजो गिरिजाप्रसाद कोइरालाले अफर गर्नुभयो,’ अध्यक्ष नेपालले भने, ‘माधव नेपाल कसैसँग झुक्ने मान्छे हो। देशी विदेशी कुनै शक्तिले मलाई डोमिनेट गर्ने कुरा नसोचे हुन्छ। प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर बस्दिनँ।’
त्यस्तै कम्युनिष्ट घटकहरुको साझा ‘समाजवादी मोर्चा’ नयाँँ ढंगले अघि बढाउन चाहिरहेको बताउँदै प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसबारेमा छलफल गर्न आग्रह गरेको बताए। साथै अन्य घटकहरुसँग कुरा भइरहे पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र एमालेलाई समेत सामेल गराउन लागिपरेको बताए।
उनले भने, ‘समाजवादी मोर्चा नयाँ ढङ्गले अघि बढाउन चाहिरहेका छौँ । प्रचण्डजीले प्रक्रिया अगाडी बढाउन आग्रह गर्नुभएको छ। विभिन्न घटक र समूहरुसँग कुरा भएको छ। ५ वटा घटक एक ठाउँमा हुन तयार छन्। उपेन्द्र यादवलाई पनि ल्याउन खोजेका छौँ। एमालेलाई पनि सामेल गर्न खोजेको हो, आउन चाहेको छैन।’