News Griha :: न्यूजगृह
काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने 

काठमाडौं— काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ। हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौं उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ। यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ। यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ। कोशी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागले आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक मौसम  सफा रहने पूर्वानुमान गरेको छ।  कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:००
Weather Update