काठमाडौं— आपराधिक समूहले उत्तरपश्चिम नाइजेरियाको एक गाउँमा आक्रमण गरी चार प्रहरीसहित २६ जनाको हत्या गरेको छ। यस्तै कैयौँलाई अपहरण गरेको छ।
‘आपराधिक समूहले आइतबार गिदान बोका गाउँमा आक्रमण गरी २६ जनाको हत्या गरेका र दर्जनौँ बासिन्दालाई अपहरण गरेका छन्। यसमा अधिकांश महिला र बालबालिका छन्,’ काङ्कारा जिल्लाका राजनीतिक प्रशासक अनस इसाले भने।
अपहरणमा परेकाको सङ्ख्या पत्ता लगाउन आफ्नो कार्यालयले काम गरिरहेको उनले जानकारी दिए। अपराधीहरूले भाग्ने क्रममा नजिकैको नकवाबो गाउँका पाँच जना बासिन्दालाई पनि गोली हानेर हत्या गरेका थिए।
राष्ट्रपति बोला अहमद टिनुबुले सशस्त्र समूहविरुद्ध कारबाही गर्ने बताएका छन्। हतियारधारी गिरोहहरूद्वारा आतङ्कित कट्सिना उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो। यहाँ आपराधिक गिरोहले फिरौतीको लागि सामूहिक अपहरणका साथै घरहरू जलाउने र लुट्ने गर्छन्।