News Griha :: न्यूजगृह
वरिष्ठ अधिवक्ताको उपाधि बारे छलफल गर्न सर्वोच्चको फुलकोर्ट बस्दै

काठमाडौं— सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) बुधबार बस्ने भएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वरिष्ठ अधिवक्ताको उपाधिबारे छलफल गर्न फुलकोर्ट बोलाएका हुन्। तर, आज नै वरिष्ठ अधिवक्ताबारे निर्णय हुने सम्भावना भने न्यून छ। 

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा गठित समितिले करिब १५० अधिवक्तालाई वरिष्ठ उपाधि प्रदान गर्न सिफारिस गरेको छ। उक्त सूची सर्वोच्चका सबै न्यायाधीशलाई रायसुझावका लागि १५ दिनअघि वितरण गरिएको थियो।

बुधबारको बैठकमा ती रायसुझावमा छलफल हुनेछ।

वरिष्ठता, पेसामा सक्रिय निरन्तरता, आचार संहिता उल्लंघन तथा फौजदारी कसुरमा पनि सजाय नपाएको लगायतका मापदण्डका आधारमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्छ।  

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:५०
Weather Update