
काठमाडौं— मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताएका छन् ।
फोकस नेपालको दशौँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती’ विषयक विचार गोष्ठीमा उनले समृद्ध राष्ट्र निर्माण गर्न शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताए ।
‘आजको हाम्रो शिक्षा प्रणाली विद्यार्थीलाई स्वनिर्भर हुन होइन परनिर्भर हुने, रोजगारी खोज्ने गरी दीक्षित बनाइएको छ, विश्व बजारमा रोजगार खोज्ने शिक्षाले देशको आत्मनिर्भरता र विकास हुन सक्दैन’, उनले भने ।
पूर्वअध्यक्ष रेग्मीले सिर्जनशील र सीपमूलक जनशक्ति विना देशको समग्र विकास र समृद्धिको यात्रा पूरा हुन नसक्ने उल्लेख गर्दै सरकारले व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।
सरकार स्थिर नहुँदा शिक्षालगायत हरेक क्षेत्रमा समस्या उत्पन्न भएको उनको भनाइ थियो । मूल नीति र व्यवहार स्थिररूपमा लक्षित गन्तव्यतर्फ गतिमान भए मात्र शिक्षालगायतका अन्य क्षेत्रको विकास एवम् समृद्धिको यात्रा सुगम र अपेक्षित हुने उनले बताए ।













