News Griha :: न्यूजगृह
मुस्ताङबाट ३ हजार बढी शालिग्राम बरामद

काठमाडौं— मुस्ताङबाट प्रहरीले ३ हजार ३७९ वटा शालिग्राम बरामद गरेको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङबाट  जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी घमीले शालिग्राम बरामद गरेको हो। बरामद शालिग्राम १५ वटा बोरामा थिए। 

व्यावसायिक प्रयोजनका लागि ग १ च ८१५२ र ध १ च ११५६ नम्बरको जीपमा राखेर जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा शालिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिए।

प्रहरीले बरामद गरेको शालिग्रामहरू आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमलाई बुझाइएको छ। एक्याप प्रमुख प्रमोदराज रेग्मीले अवैध रुपमा लुकाइ छिपाई लैजान लागिएको शालिग्राम कसको हो भन्ने अझै खुल्न नसकेको जानकारी दिए।

एक्याप जोमसोमले बरामद गरेको शालिग्राम आवश्यक कारबाहीका लागि एक्याप प्रधान कार्यालय पोखरा पठाएको छ। मुस्ताङमा यति ठूलो सङ्ख्यामा शालिग्राम बरामद भएको पहिलो पटक हो। 

अन्नपूर्ण संरक्षणको स्वामित्वमा रहेको प्राकृतिक श्रोत साधन अनुमति बिना  ओसारपसार गर्न पाइँदैन। घरायसी तथा व्यक्तिगत प्रयोजनका लागि एक/दुई वटा शालिग्राम लैजाने पाइए पनि व्यावसायिक प्रयोजनको लागि ओसारपसार गर्न पाइदैन।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १८:४५
Weather Update