News Griha :: न्यूजगृह
दीपक मनाङे भन्छन्– मध्यावधि रोक्न सरकारमा आएँ, २० पटक मन्त्री बन्न सक्छु
फाइल तस्बिर

काठमाडौं— गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न आफू सरकारमा गएको टिप्पणी गरेका छन्। 

मंगलबार गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएपछि पदभार ग्रहण गर्दै सो कुरा बताएका हुन्।  

‘प्रदेश मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि मैले सरकारमा आएको हुँ। लामो राजनीति गर्नु भन्दा यही कार्यकाल राम्रो राजनीति गरौँ भन्ने लाग्यो। राम्रोसँग काम गरे आफ्नो जिल्ला त बनिहाल्छ,’ उनले भने।  

उनी यसअघि पनि ५ पटक मन्त्री बनिसकेका छन्। आफू स्वतन्त्र हैसियतमा रहेको र जुनसुकै सरकार आए पनि आफूले सहयोग गर्र्दै आइरहेको बताउँदै ६ पटक मात्रै नभएर अब २०औँ पटक मन्त्री बन्नु पर्ने अवस्था समेत आइपर्नसक्ने टिप्पणी गरे। प्रदेश सरकारले स्थायित्व नपाउनुमा केन्द्रको दोष रहेको समेत बताए।  

‘यो समस्या यहाँको होइन, केन्द्रको हो। कांग्रेसको पार्टी सभापतिले अरू पार्टीसँग भोट मागेपछि केन्द्रमा निर्णय भयो। यहाँ सांसदहरूले भोट हालेका हुन्। यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नुपर्ने हुन सक्छ,’ मनाङेले भने।

यसअघिको नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले स्थायीत्व नपाउनुमा माओवादी केन्द्रको हात रहेको बताए। 

आफूले कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्दा एमाले रिसाउने र एमाले नेतृत्वको सरकारलाई सहयोग गर्दा कांग्रेस रिसाउने गरेको बताए। 

सोमबार विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री र फणिन्द्र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका हुन्। देवकोटा गत निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन नेसपाका सांसद हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १७:४२
Weather Update