News Griha :: न्यूजगृह
सुमनालाई देवेन्द्रको सुझाव– शिक्षकको ‘डीएनए’ परीक्षण गरेर मात्रै शिक्षा सुधार हुँदैन

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षकलाई गाली गरेर मात्रै शिक्षा क्षेत्र राम्रो नहुने बताएका छन्। 

मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै सो कुरा बताएका हुन्। 

पूर्व शिक्षामन्त्री समेत रहेका नेता पौडेलले ड्राइभरलाई गाडी चलाउँदा राम्रो गरिनस् भनेर दबाब दिँदा दुर्घटनामा पर्ने भन्दै शिक्षकलाई गाली गरेर मात्रै शिक्षा सुधार नहुने बताए। 

उनले भने, ‘आजकल शिक्षकलाई गाली गरेपछि विद्यालय सुध्रिन्छ कि भन्ने तर्क गरिन्छ। ड्राइभरलाई गाडी चलाउँदा राम्रो गरिनस् भनेर गाली गर्दा राम्रोसँग गाडी चलाउँछ र?’ 

त्यस्तै उनले देशका केही उत्कृष्ट सामुदायिक विद्यालयको उदाहरण दिँदै राजनीतिक दलमा आवद्ध रहेकी शिक्षकहरुको कारण राम्रो हुन सकेको संकेत गरे। उनले घुमाउरो भाषामा शिक्षकहरुलाई राजनीतिक दलको सदस्यताबाट अंकुस लगाउने काम राम्रो नहुने टिप्पणी गरे। तीनै  शिक्षकको कारण विद्यालय शिक्षा सुधार भएको संकेत गर्दै बुटवलको कालिका मानवज्ञान मावि, चितवनको नारायणी मावि, मोरङको शुक्ला मावि, काठमाडौंको ज्ञानोदय मावि लगायत विद्यालयको उदाहरण दिए। 

‘शिक्षकहरुको अनावश्यक रुपमा डीएनए परीक्षण गर्दै हिंड्ने कुरा राम्रो छैन। यो ट्रेड युनियन अधिकार विपरीत हुन्छ,’ उनले भने, ‘त्यो विद्यालयलाई त्यहाँ पु-याउनेहरुको पृष्ठभूमि हेर्नुभयो भने अर्कै देखाउँछ। त्यसो भएर यो आरोप सही छैन।’ 

त्यस्तै मन्त्रालयको क्षेत्राधिकारको विषयमा समेत मन्त्री सुमना श्रेष्ठलाई उनले स्पष्ट गराएका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:५२
Weather Update