News Griha :: न्यूजगृह
काठमाडौंमा मेघगर्जनसहित वर्षा

काठमाडौं— काठमाडौंमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ ।

रातिको समयमा पनि बदली र वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भेगमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुनाका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । प्री–मनसुन पनि सक्रिय रहेकाले बदली र वर्षा गराएको मौसमविद् झाले बताए ।

उनले भने, ‘प्री–मनसुन पनि सक्रिय भएको छ, साथै, पश्चिमी वायुको प्रभाव पनि रहेको छ । सोमबार दिउँसो पनि देशभर बदली रही पहाडी भेगमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यता मौसम सफा रहने छ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  २१:५१
Weather Update