News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको भारत भ्रमणबारे एमालेले संसद्मा उठायो प्रश्न 
फाइल तस्बिर

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सत्तारुढ दल नेकपा एमालेले असन्तुष्टि जनाएको छ। 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा रघुजी पन्तले प्रधानमन्त्रीले भारत भ्रमणका उपलब्धीका बारेमा अखबारहरु नभएर संसद्मा आएर जानकारी दिनुपर्नेमा जोड दिए। 

उनले यसअघि प्रधानमन्त्रीले भारत भ्रमणमा पनि दुर्ई देशबीचको सम्बन्ध अघि बढाउने विषयमा सहमति गरेर आएको भने पनि अहिलेसम्म कुनै उपलब्धी नभएको भन्दै त्यसको विषयमा जवाफ माग गरे। साथै प्रधानमन्त्रीले भारत भ्रमणको विषयमा संसद्मा आएर जवाफ दिनका लागि सभामुखले रुलिङ गर्न समेत माग गरे।  

‘उहाँले सबै विषयमा कुरा भयो, कुनै विषय बाँकी छैन, हाम्रो सम्बन्ध मित्रतापूर्ण रुपमा अघि बढिराखेको छ भन्नुभयो। यो भन्दा अघि पनि त्यही भन्नु भएको थियो। त्यो भन्दा अघि अर्को प्रधानमन्त्रीले पनि त्यसै भन्नुहुन्थ्यो। तर सीमाको समस्या त्यतिकै छ, हाम्रो ईजीपीको प्रतिवेदन त्यतिकै छ। १९५० को सन्धी त्यतिकै छ। भारतसँग भएका सबै सन्धी सम्झौता त्यतिकै थाती रहेका छन्। त्यसैले सभामुखज्यूबाट आज रुलिङ हुनुपर्छ, प्रधानमन्त्री भारतबाट आइसकेपछि बोल्ने पहिलो ठाउँ संसद् हो,’ उनले भने।  

भारतका तेस्रो पटक प्रधानमन्त्री भएका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। आफ्नो प्रतिनिधिमण्डलसहित भारत पुगेका प्रधानमन्त्री शपथग्रहण समारोह, उच्च पदस्थ व्यक्तिहरुसँग भेट सकाएर सोमबार साँझ नेपाल फर्किएका छन्। 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ११:३४
Weather Update