टिपर दुर्घटनामा चालकको मृत्यु, २ जना घाइते

गुल्मी— गुल्मीको तम्घास नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
अर्घाखाँचीको छत्रदेव–७ नेटाबाट गुल्मी सदरमुकाम तम्घास देउराली जाँदै गरेको ना८ख ६६४४ नम्बरको टिपर गएराति दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक अर्घाखाँचीको सन्धिखर्क–८ का २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई जना घाइते छन्।
मंगलबार राति सडकबाट ६० मिटर तल खस्दा तीन जना घाइते भइ उपचारका लागि गुल्मी अस्पतालमा ल्याइएकोमा पुरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुर्घटनामा सन्धिखर्क–८ कै ३३ वर्षीय रिसब केसी र अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ बस्ने २९ वर्षीय नवीन घिमिरे घाइते छन्। घाइतेमध्ये रिसबको अवस्था गम्भीर रहेको र दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१ ०९:४०













