
काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा)ले गण्डकी प्रदेश सरकारलाई कानुन बमोजिम नै विश्वासको मत दिएको बताएको छ। केन्द्रीय प्रवक्ता कृष्ण शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको मत संविधानसम्मत नै भएको दाबी गरेका हुन्।
‘गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको अवस्था हो,’ विज्ञप्तिमा भनिएको छ।
उनले फ्लोर क्रस गरिएको प्रचारबाजीबाट भ्रमित नहुन पनि आग्रह गरेका छन्।
‘...नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र नेपालको संविधान धारा १७ को उपधारा (२) खण्ड (ग) र राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ ले दिएको अधिकार प्रयोग गरी दलको छुट्टै स्वतन्त्र अस्तित्वसहित चुनावमा सहकार्य भएको थियो,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा नेपाल समाजवादी पार्टीको निर्देशन र जनताले आम निर्वाचनमा दिएको जनादेश बमोजिम हाम्रो पार्टीका प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले विश्वासको मत दिनु भएको हो। यस अवस्थामा उहाँले दिनु भएको विश्वासको मतलाई आधार बनाएर अन्य दलले ह्वीप जारी गरी कारबाही गर्न मिल्ने अवस्था होइन।’
नेसपाले फणीन्द्र देवकोटाले गोरखा २ (१) मा उम्मेदवारी दर्ता गर्दा नै मनोनयन फाराममा नेपाल समाजवादी पार्टीको तर्फबाट उम्मेदवार भनेर जनाएको बताएको छ।