महोत्तरीमा ३० वर्षीय युवकमाथि गोली प्रहार

काठमाडौं— महोत्तरीमा एक युवकमाथि सोमबार साँझ ६ बजेतिर गोली प्रहार भएको छ।
महोत्तरीको गौशाला नगरपालिका–११ घर भएका ३० वर्षीय मुरारी भनिने विनयकुमार महतोमाथि स्थानीय मरहा खोलामा गोली प्रहार भएको हो।
लुटपाटको उद्देश्यले महतोमाथि गोली प्रहार भएको आशंका प्रहरीले गरेको छ। हतियारधारी समूहले महतोले लगाएको सुनको सिक्री र ब्रास्लेट लुटेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले बताए।
डीएसपी जयसवालका अनुसार कम्मरमा गोली लागेर घाइते भएका उनलाई उपचारको लागि जनकपुर लगिएको छ।
गौशाला बजार जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाको हतियारधारी समूहले उनीमाथि गोली चलाएको हो।
घटनास्थलबाट दुईवटा गोली फेला परेको प्रहरीले जनाएको छ। गोली प्रहरी गर्नेको प्रहरीले खोजी गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१ १९:४१













