
धनगढी— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउँदै मन्त्रिपरिषद्को विस्तार गरेका हुन्।
सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् भने वीरबहादुर थापा र हिरा सार्कीलाई बिना विभागीय मन्त्री बनाएका छन्। त्यस्तै माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने अक्कल बहादुर रावल र लक्ष्मी विकलाई बिना विभागीय मन्त्रालयको जिम्मेवारी दिएका छन्।
त्यस्तै स्वतन्त्र प्रदेश सभा सदस्य डा ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीकी माया पन्त बिना विभागीय मन्त्री बनेकी छन्।
नव नियुक्त मन्त्रीको सोमबार साँझ शपथ ग्रहण हुने भएको छ। मुख्यमन्त्री सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए।