News Griha :: न्यूजगृह
नेपाल–भारतबीचको सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको छः एस जयशंकर 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका नवनियुक्त संघीयमन्त्री एस जय शंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा जयशंकरले दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको बताएका छन्। 

सोमबार प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा भएको द्विपक्षीय भेटमा दुई देशबीचको आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको दाहाल सचिवालयले जनाएको छ।

जयशंकरलाई बधाई दिँदै दाहालले आगामी दिनमा दुई देशबीच रहिआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे। 

मन्त्री जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएकोमा  प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। 

भेटमा प्रधानमन्त्री प्रचण्डपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता रहेको थियो।

तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले आइतबार साँझ शपथग्रहण गरेका छन्। मोदीको शपथग्रहणमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिमण्डलको टोलीसहित आइतबार दिउँसो भारत प्रस्थान गरेका हुन्। शपथग्रहणपछि नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीसँग प्रचण्डको भेट भएको थियो। त्यस्तै आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपती मुर्मुसँग समेत शिष्टाचार भेट गरेका छन्।  

आजै साँझ प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किने कार्यक्रम रहेको छ।  

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:५७
Weather Update