
काठमाडौं— भारतको दुइ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेको दाहाल सचिवालयले जनाएको छ।
भेटका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्रीबीच नेपाल–भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ।
त्यस्तै दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहाल आइतबार साँझ तेस्रोपटक भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका हुन्।
शपथग्रहणपछि आइतबार नै प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच भेटवार्ता भएको थियो। प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आज(सोमबार)साँझ स्वदेश फर्कने तालिका छ।