News Griha :: न्यूजगृह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा किन गरिँदैछ बन्द?  

काठमाडौं— सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द हुँदैछ।  

नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गर्न लागिएको जानकारी गराएको हो। 

दिउँसो १ बजेबाट साढे १ बजेसम्म हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्ये Alert 9.3.1(विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन अभ्यास हुने कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार सो अभ्यासको मुख्य उद्देश्य सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको जनाइएको छ। 

‘अभ्यासको क्रममा स्थानीय समय १३ः०० देखि १३ः३० बजे सम्म यस विमानस्थलको अपरेसन बन्द हुने भएकोले नियमित उडान अवतरण प्रभावित हुन सक्नेछन्,’ सूचनामा भनिएको छ, ‘यो विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार गरिने योजनाबद्ध अभ्यास भएको ब्यहोरा सर्वसाधारण तथा खास गरी विमानस्थल वरिपरिका बासिन्दाहरूलाई सुसूचित गराउन चाहन्छौँ।’

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:१८
Weather Update