
काठमाडौं— गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन्।
दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री रहे पनि अझै बहुमत पुग्ला या नपुग्ला अन्योलता कायमै छ।
सर्वोच्चको परमादेश अनुसार गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई बहुमतका लागि ३१ मत आवश्यक पर्छ। तर उनको दल नेपाली कांग्रेसको २७ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ गरी हालसम्म २९ मत मात्रै उनको पक्षमा देखिएको छ।
राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले न्यूजगृहलाई जानकारी दिए।
‘हामी सरकारको स्थायित्वका लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौँ,’ श्रेष्ठले भने।
यता विपक्षमा रहेका एमाले र माओवादीले उनलाई विश्वासको मत दिने सम्भावना नरहेको अवस्थामा उनलाई बहुमत पुर्याउन एक स्वतन्त्र सांसद र अर्का माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका फणिन्द्र देवकोटाको साथ चाहिन्छ। तर दुवै विश्वासको मत दिने पक्षमा सकारात्मक रहे पनि अन्तिम टुंगो नलागेको मुख्यमन्त्री पाण्डेका सचिवालयका एक सदस्यले न्यूजगृहलाई जानकारी दिए। दुवैसँग छलफल सकारात्मक भएको र केही बेरमा त्यसबारेमा थाहा हुने उनले बताए।
‘स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) र नेसपाका फणिन्द्र देवकोटासँगको छलफल सकारात्मक छ, तर अन्तिम निर्णय भने आएको छैन,’ उनले भने।
६० सदस्यीय प्रदेश सभामा कांग्रेस २७, एमाले २२, माओवादी केन्द्र ८ (सभामुखसहित), एक स्वतन्त्र सांसद रहेका छन्।
पाण्डेको यो दोस्रो कार्यकाल हो। पाण्डे यसअघि २०८० वैशाख १४ मा पनि मुख्यमन्त्री बनेका थिए। तत्कालीन सत्ता गठबन्धनमा हेरफेर आएपछि पाण्डेले गएको फागुन २१ मा राजीनामा दिएका थिए।