
पोखरा— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयको कार्यसूची अनुसार अपरान्ह ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची छ।
जेठ १६ मा मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १६८ ९३० बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेछ।
६० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेश सभा सदस्य छन्। पाण्डे यसअघि २०८० वैशाख १४ मा पनि मुख्यमन्त्री बनेका थिए। यो उनको दोश्रो कार्यकाल हो। तत्कालीन सत्ता गठबन्धनमा हेरफेर आएपछि पाण्डेले गएको फागुन २१ मा राजीनामा दिए।
पाण्डेको राजिनामापछि नेकपा एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भए। तर संविधानबमोजिम प्रदेशसभामा बहुमत पुर्याउन नसकेपछि प्रदेशसभामा उपस्थितको बहुमतको आधारमा भन्दै सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए।
सो प्रकृयाविरुद्ध पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरे। अदालतले जेठ १४ मा मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत बदर गरेको थियो। अदालतले संविधानको धारा १६८ (३) बमोजिमको सरकार गठनका लागि आदेश गरेको थियो। सोही आदेशबमोजिम पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गर्न थप ४ सांसदको समर्थन जुटाउनुपर्छ। राप्रपा र स्वतन्त्रले विश्वासको मत दिएपनि उनलाई एक मत कम पर्छ। नेकपा माओवादीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका फणीन्द्र देवकोटाले पाण्डेलाई विश्वासको मत दिन सक्छन्। देवकोटाले आफूलाई माओवादीको ह्वीप नलाग्ने दाबी गर्दै आएका छन्। देवकोटा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन्।