
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय राष्ट्रपति द्रैपदी मुर्मुले दिएको रात्रिभोजमा सहभागी भएका छन्।
राष्ट्रपति भवनमा आइतबार राति आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ गराएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गरेकी हुन्।
रात्रिभोजमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच संक्षिप्त कुराकानी पनि भएको छ। रात्रिभोजमा श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत अतिथि उपस्थित थिए।
प्रधानमन्त्री दाहालले सोमबार बिहान ११ बजे प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुर्मुसँग भेटघाट गर्नेछन्।
प्रधानमन्त्री दाहाल शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन्। प्रधानमन्त्री दाहालका साथमा उनकी छोरी गङ्गा दाहाल, कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी छन्।
प्रधानमन्त्री दाहाल सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ।













