News Griha :: न्यूजगृह
निर्वाचन सम्पन्न भएपछि चितवनवासीलाई रविको विशेष नमन्, अरूलाई धन्यवाद

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्यका लागि आइतबार चितवन–२, तनहुँ–१ र बारा–२ क्षेत्रमा शान्तिपूर्ण वातावरणमा उपनिर्वाचन सम्पन्न गराउन भूमिका खेल्नेहरूलाई धन्यवाद दिएका छन् ।

उनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन आयोग,  सरकार, सुरक्षा निकाय, मिडियालगायत सबैलाई धन्यवाद दिएका हुन् ।

‘तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ वासी बुबाआमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार ! आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं । हाम्रो चुनावी यात्रामा अहोरात्र खट्ने हाम्रा साथीहरू, सुरक्षा निकाय, निर्वाचन आयोग, आमसञ्चारकर्मीहरु र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं,’ सभापति रविले फेसबुकमा लेखेका छन् ।

उनले निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्‍याउने  नेपाल तथा नेपालबाहिरकाहरूलाई पनि  आभार व्यक्त गरेका छन् । आफूलाई हरेक मुस्किलसँग लड्न सक्ने साहस चितववासीहरूले दिएको भन्दै लामिछानेले विशेष नमन् गरेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १९:२७
Weather Update