मधेसका मुख्यमन्त्री सिंहले थपे दुई मन्त्री

जनकपुर — आफ्नै दल जनमत पार्टीका दुईजना मन्त्री थप्दै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।
जनमतको भागमा परेका दुई मन्त्रालयमा दुईजना मन्त्री उनले नियुक्त गरेका हुन्। सिरहा ४ (१) बाट निर्वाचित त्रिभुवन साह र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई मन्त्री नियुक्त गरिएको छ।
साहलाई वन तथा वातावरणमन्त्री बनाइएको छ। बिनाविभागीय रहेकी रञ्जु मण्डल खंगलाई उक्त मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
मियाँलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरिएको हो। उनलाई जनमतको भागमा पर्ने अर्को मन्त्रालयको जिम्मेवारी तोकिनेछ।
नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीले शपथ गराएकी छन्।
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१ १९:४०