News Griha :: न्यूजगृह
मेगा ड्रिम सहकारीका उपाध्यक्ष र सीईओसहित ३ जना पक्राउ, अध्यक्षसहित ७ जना फरार

काठमाडौं— माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र सीईओसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उपाध्यक्ष बासुदेव भट्ट, सचिव तथा सीईओ इन्द्र प्रसाद गेलाल र सदस्य शरद कुमार अधिकारी छन्।

आरोपितहरूले सहकारीको २१ करोड २ लाख ८४ हजार रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। प्रहरीले अनुसन्धान सकेर प्रतिवेदनसमेत जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइ सकेको छ।

मेगा ड्रिमका संचालकविरुद्ध २१ करोड २ लाख ८४ हजार बिगो मागदाबी लिनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

बागमती प्रदेशस्थित संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले मेगा ड्रिमका सञ्चालकहरूलाई पक्राउ गरेर कानुनी कारबाही गर्न गत मङ्सिरमा प्रहरीलाई पत्राचार गरेको थियो।

सहकारीका अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रबिन कुमार कार्की, सदस्य शेखर बस्नेत, सदस्य राजकुमार श्रेष्ठ, पूर्व अध्यक्ष उमाकान्त न्यौपाने, सदस्य प्रकाश घिमिरे र सुभद्रा चौलागाईं फरार छन्। प्रहरीले उनलाई फरार प्रतिवादी कायम गरेको छ।

सहकारी सञ्चालकविरुद्ध १६२ जना बचतकर्ताले जाहेरी दिएका छन्। माछापोखरीमा मुख्य कार्यालय भएको सो सहकारीले थानकोट, कालीमाटी, न्युरोड, चाबहिल, जोरपाटी, गठ्ठाघर र चापागाउँ दोबाटोमा सेवा कार्यालय सञ्चालन गर्दै आएको छ। 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १९:२०
Weather Update