
गण्डकी— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतका लागि प्रदेशसभाकाे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ खोजेका छन्।
सोमबार बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदैछन्। अन्य दलको साथ नपाएमा संकटमा रहेका पाण्डेले आज एमालेलाई पत्र पठाउँदै विश्वासको मत दिन आग्रह गरेका हुन्।
नेपालको संविधान र प्रदेशसभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्न लागेको मुख्यमन्त्री पाण्डेको पत्रमा उल्लेख छ।
‘स्थायित्व र जनआकांक्षाअनुरुप प्रदेशको समग्र विकास तथा उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ,’ पाण्डेले पठाएको पत्रमा भनिएको छ।
राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफूले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावका पक्षमा गण्डकी प्रदेशसभामा रहेका एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमार्फत् आग्रह गरेका छन्।
उक्त पत्र प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका हुन्।
मुख्यमन्त्री पाण्डेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भन्दा अघि नै विश्वासको मत लिन लागेका हुन्।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाउँदै गण्डकीमा सहयोग गर्न आग्रह गरेका थिए।