News Griha :: न्यूजगृह
राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक चौधरीको ‘सर्टिफिकेट’ नक्कली, विशेष अदालतमा मुद्दा  

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ।  

उपनिर्देशक चौधरीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश र बढुवामा समेत सोही प्रमाणपत्र प्रयोग भएको पुष्टिसहित अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरुले सेवा प्रवेशका अवसरमा नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) प्रयोग गरी सेवा प्रवेश गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान गर्दा चौधरीको शैक्षिक प्रमाणपत्रमा समेत कैफियत देखिएको हो।  

चौधरीले भारतको बोधगयास्थित मगध विश्वविद्यालय बीए उत्तीर्ण गरेको भन्दै  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिएका थिए। त्यसपछि पनि उनले सोही शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै हाल राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत रहेका छन्। 

चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायका लागि मागदाबी गरिएको छ। 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १५:४३
Weather Update