-1717758427.jpg)
काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुमाथि लगाएको आरोपबारे प्रतिक्रिया दिएका छन्।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले आफूले कसैको नाम नलिइ सञ्चार माध्ययमा आएका कुरा मात्रै संसद्बाट पढेर सुनाएको बताए।
सहकारी ठगी प्रकरणमा कांग्रेसले संसद्मा निरन्तर अवरोध गरेपछि त्यसको जवाफ दिन रोस्टम पुगेका गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरुमाथि विभिन्न आरोप लगाउँदै उनीहरुमाथि खनिएका थिए।
केही समयअघि गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ लगायतको विषयमा विभिन्न आरोप लागेको भन्दै सञ्चार माध्यममै आएका समाचारको भरमा कसैलाई पनि दोषी करार गर्न नपाइने भन्दै आफ्नो बचाउ गरेका थिए।
विमानस्थलमा सञ्चारकर्मीले सो विषयमा राखेको जिज्ञासाबारे लामिछानेले भने, ‘मैले कसैको नाम लिएर कुनै कुरा भनेको होइन, मैले त जेजे सञ्चारमाध्यममा आएकै समाचारको कुराकानी गर्ने हो भने सञ्चार माध्यममा यस्ता यस्ता कुरा पनि आउँछन् भनेर पढीबाची सुनाएको मात्र हो। मैले कसैको नाम लिएजस्तो याद छैन।’
उनले कांग्रेस नेताहरुमाथि विभिन्न खालका आरोप लगाएपछि त्यसको छानबिन गर्न गृहमन्त्रीलाई कांग्रेस नेताहरुले चुनौती समेत दिएको थियो।
त्यस्तै आफूमाथि उठेका सबै विषयमा जवाफ दिएर नहिँड्ने पनि बताए।