
काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङका ३१ वर्षीय सरोज कोइराला, रौतहटका २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरीका २१ वर्षीय मोहमद अरमान र ३७ वर्षीय ज्याउदिन मियाँ छन। फरकफरक घटनामा उनीहरु पक्राउ परेका हुन्।
भन्सार छली भित्राइएको सुन संकलन गरी लैजान लागेको अवस्थामा कोइराला र आलम पक्राउ परेका हुन्। उनीहरूको साथबाट करिब २५ ग्राम सुनको सिक्री, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लो बरामद भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
कतार एअरको उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
त्यसैगरी ५० ग्राम सुनको सिक्रीसहित अरमान र मियाँलाई प्रहरीले पक्राउ गरेको हो। कतार एअरको उडानद्वारा दोहाबाट नेपाल आएका मियाँले भन्सार छली ल्याएको सुनको सिक्री अरमानलाई दिने बेला पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।













