News Griha :: न्यूजगृह
नरेन्द्र मोदी ३.०: को–को बन्दै छन् मन्त्री ?

काठमाडौं— नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिने तयारी गरिरहेका बेला मन्त्री बन्ने को चर्चा पनि सुरु भएको छ। भारतीय मिडियाका अनुसार सम्भावित मन्त्रीहरूलाई शपथका लागि फोन आएको छ। जसमा चार पूर्व मुख्यमन्त्री राजनाथ सिंह, शिवराज सिंह चौहान, मनोहर लाल खट्टर र कुमारस्वामीको नाम समावेश छ।

यी बाहेक मोदीको दोस्रो कार्यकालमा मन्त्री रहेका नितिन गडकरी, पीयूष गोयल, ज्योतिरादित्य सिन्धिया र अर्जुन राम मेघवालले फेरि जिम्मेवारी पाउने पक्का रहेको रिपोर्टमा उल्लेख छ।

modi-rajnath-and-other-1717922176.jpg
तस्बिरः नरेन्द्र मोदी/फेसबुक

त्यस्तै एनडीए गठबन्धनको महत्वपूर्ण दल टीडीपी सांसद राममोहन नायडू पनि मन्त्री बन्ने बताइएको छ। ३६ वर्षीय राम मोहन भारतका सबैभन्दा कान्छो मन्त्री हुनेछन्। त्यस्तै एलजेपी (आर) बाट चिराग पासवान, जेडीयूबाट रामनाथ ठाकुर र ललन सिंह, हामका जीतनराम माझी र अपना दल (एस)की अध्यक्ष अनुप्रिया पटेल पनि मन्त्री बन्न सक्ने रिपोर्टमा बताइएको छ।

त्यस्तै मनोहर लाल बाहेक राव इन्दरजीत पनि मन्त्री बन्ने सूचीमा रहेका छन्। मन्त्रिपरिषद्मा यूपी, राजस्थान र गुजरातको हिस्सा घट्ने विश्वास गरिएको छ। 

नरेन्द्र मोदीले आज साँझ ७:१५ बजे राष्ट्रपति भवनमा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनेछन्। यसअघि बिहान उनले महात्मा गान्धी र पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए। 

शपथ ग्रहण गरेसँगै मोदीले लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने पूर्वप्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको ६२ वर्ष पुरानो कीर्तिमानको बराबरी गर्नेछन्।

नेहरू सन् १९५२, १९५७ र १९६२ मा लगातार तीन पटक जितेर प्रधानमन्त्री बनेका थिए। तर, नेहरू सरकारसँग तिनै पटक पूर्ण बहुमत रहेको थियो। मोदीको तेस्रो कार्यकाल भने गठबन्धनको आधारमा चल्नेछ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १४:१५
Weather Update